
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समूहले २० फागुनको केन्द्रीय कमिटी बैठकलाई वारपारको बैठकका रूपमा परिभाषित गरेको छ । श्रेष्ठ समूह संसदबाट एमसीसी अनुमोदन गर्ने सन्दर्भमा प्रचण्डको निर्णयप्रति आत्मलोचना नगरे विकल्प खोज्ने रणनीतिमा देखिएको छ ।
अर्थात्, २० फागुनको केन्द्रीय कमिटी बैठकमा प्रचण्डमाथि अनुशासन उल्लंघनको प्रश्न उठ्नेछ । श्रेष्ठ समूहले उठाउने यो प्रश्नमा प्रचण्डको जवाफले माओवादी केन्द्रको विभाजन रोक्ने वा नरोक्ने भन्ने निर्क्योल हुनेछ ।
अहिले माओवादीमा पार्टी को हो ? भन्ने प्रश्न उठेको छ । आठौँ महाधिवेशनपछि माओवादीको केन्द्रीय कमिटी चयन भएको छ ।
अध्यक्षबाहेकका पदाधिकारी चयन हुन सकेको छैन भने स्थायी कमिटी र पोलिटब्युरो पनि बनेको छैन । त्यसैले आइतबार एक्कासि प्रचण्डले एमसीसी अनुमोदन गर्ने निर्णय गरेकै कारण पार्टी भनेको प्रचण्ड हो वा अरु पनि हो भन्ने प्रश्न उठेको श्रेष्ठनिकट केन्द्रीय सदस्य पेशल खतिवडा बताउँछन् ।
नारायणकाजीलाई फकाउन निवासमै पुगे प्रचण्ड
प्रचण्डको एकल निर्णयलाई पार्टीले स्वीकार गर्न नसक्ने उनको दाबी छ । अर्थात्, प्रचण्डले पूर्वस्थायी कमिटी सदस्यका नाममा नेताहरूसँग छलफलसम्म गर्न सक्ने, तर निर्णय आधिकारिक नहुने खतिवडाको भनाइ छ ।
खतिवडाको भनाइलाई हेर्दा २० फागुनमा प्रचण्डले महाधिवेशनको म्यान्डेट उल्लंघन गरेको एजेण्डा उठाउने र आत्मालोचना गराउने प्रयास हुने देखिन्छ । प्रचण्डले त्यतिबेला आत्मालोचना नगर्ने र बहुमतको निर्णय स्वीकार गर्न लगाउने परिस्थिति बन्यो भने पार्टी विभाजनसम्मको तयारी श्रेष्ठ समूहले गरेको छ ।