
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आइतबारसम्म स्थगित भएको छ ।
केन्द्रिय समिति बैठकको आज पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठको सम्बोधन गर्नुभएको छ ।
बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिति र एमसीसीबारे ब्रिफिङ गर्ने क्रममा पार्टीको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभएको थियो । उहाँले बन्नै लागेको नयाँ गठबन्धन भत्काएर पुरानो गठबन्धन जोगाएको धारणा समेत राख्नुभएको थियो ।
नेता श्रेष्ठले एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको आलोचना गर्नुभएको थियो ।
आइतबार हुने केन्द्रिय समिति बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिट ब्युरो र स्थायी समिति गठन र पदाधिकारी चयनका साथै कार्य विभाजनका लगायत विषयमा छलफल हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका केन्द्रिय सदस्य देवेन्द्र पौडेलले जानकारी दिनभयो ।
पार्टीको आठौँ महाधिवेशनले अनुमोदन गरेको विधान अनुसार २९९ सदस्यीय केन्द्रीय रहने व्यवस्था गरे पनि ६३ जना केन्द्रीय सदस्यको मनोनीत गर्न बाँकी छ ।
गत पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय सदस्यहरूको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय लिए पनि अन्य पदाधिकारी टुङ्गो भने लगाइसकेको छैन ।
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।