
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।
आइतवारको बैठकमा पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय कार्यसूची रहेको कार्यालय सचिव श्रीराम ढकालले बताउनुभएको छ । यसअघि शुक्रबार बसेको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यसयता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।
आइतवारको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने माओवादीको तयारी छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनित गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनित गर्नेछ।
यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।