
सङ्कटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सङ्कटाको जीतका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफमा १–० को अग्रता बनाएको सङ्कटाले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।
खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन । खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए ।
आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९९९९ रुपैयाँ पाए ।
भोलि तेस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
आयोजकले आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा अतिथिहरू सबै महिला मात्र थिए ।