
आजदेखि फागु अर्थात होली पर्व सुरु भएको छ ।
काठमाडौंको बसन्तुपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठक नजिक तीनतले चीर ठड्याइएपछि आजदेखि होली पर्व सुरु भएको हो ।
आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । त्यस अवसरमा एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
परम्परागत प्रचलन अनुसार आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली पर्व सुरु भएको जनाउ दिइन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली र पहाडी क्षेत्रमा र ४ गते तराईका जिल्लामा होली मनाइन्छ । यस अवसरमा सरकारले दुवै दिन सम्बन्धित क्षेत्रमा सार्वजनिक विदा दिएको छ ।