
काठमाडौं महानगरपालिकाले तोकेको खुला चोकबाट कालीमाटीका व्यापारीहरु फर्किएपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाइने भएको छ ।
लकडाउनका कारण प्रयोगबिहीन अवस्थामा रहेको पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारको रुपमा प्रयोग गर्न खोजी थालिएको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।
‘मंगलबार महानगरपालिकासँग भएको छलफलपछि हामी पार्टी प्यालेस खोज्न हिडेका छौँ,’ समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले भने ।
यसअघि महानगरले तोकेकै ठाउँ पायक पर्नेगरी पार्टी प्यालेसको खोजी गरिएको पौडेलले बताए । चोकहरुमा गरिएको व्यपारमा सामान्य पूर्वाधारको समेत समस्या देखिएपछि विकल्पमा पार्टी प्यालेस खोजिएको उनको भनाइ छ ।
बजार बिकास समितिका समिति पदाधिकारी, केही व्यवसायी र महानगरको प्रतिनिधले मंगलबार केही पार्टी प्यालेसको स्थलगत अवलोकन गरेको पनि बजार बिकास समितिले जनाएको छ ।
महानगरले यसअघि नै तोकेको ११ स्थानहरु कलंकी, बाफल, स्वयम्भू, वनस्थली गंगबु, बसुन्धारा, गोपीकृष्ण हल चोक, लैनचौर, रत्नपार्करबसपार्क र कोटेश्वर चोक नजिकका पार्टी प्यालेस खोजीको पहिलो प्राथमिकतामा रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।