
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रचण्ड र माधव कुमार नेपाल कम्युनिष्ट आन्दोलनको मुख्य खलनायक भएको आरोप लगाएका छन् ।
सोमबार नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन अदालतलाई समेत दुरुपयोग गरेको आरोप लगाए ।
उपाध्यक्ष पौडेलले नेकपा एमालेलाई फुटाउन देशी विदेशी प्रतिगामी शक्तिहरु लागेको बताउदै प्रचण्ड र माधव कुमार नेपाल प्रतिगामी शक्तिहरुको मतियार बनेको जिकिर गरे । उनले वामपन्थी शक्तिको सरकार गिराएर कांग्रेसको पछि लागेका प्रचण्ड र माधव कुमार नेपालले नेपालको कम्त्युनिष्ट आन्दोलनमा धेरै ठूलो अपराध गरेको बताए ।
जनताले उनीहरुलाई माफी दिन नसक्ने बताउँदै नेता पौडेलले नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिनेहरु समाप्त भएर जाने ठोकुवा गर्नु भयो । उपाध्यक्ष पौडेलले नेकपा एमालेले देश र नेपाली जनताको सम्बृद्धि विकास चाहेको उल्लेख गर्दै जनताले आगामी चुनावमा प्रतिफल दिने बताए ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिगामी शक्तिहरुका मतियारहरुले अदालतबाट सरकार गठन गरेर अदालतकै धज्जी उडाएको बताउदै यसमा मुख्य दोष प्रचण्ड माधवको नै रहेको दावी गरे ।