
नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताउनु भएको छ ।
मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले भन्नुभयो, ‘कम्युनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।
‘केपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठवन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु’ उहाँले भन्नुभयो ।
बाम दलहरुबीच गठबन्धन हुन सक्ने भन्दै उहाँले एमालेसँग भने एकीकृत समाजवादी मात्र नभै अहिलेको ५ दलीय गठवन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दावी गर्नुभयो । । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उहाँले भन्नुभयो ।
कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीच वाम गठबन्धन हुन सक्ने उहाँले बताउनु भयो ।