
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरमा नेपाल सांस्कृतिक सङ्घ सुनसरी क्षेत्र नं ४ ले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भए पनि अब एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
पार्टी भित्रै गुटगत राजनीति हाबी भएको खण्डमा आउने स्थानीय तहको निर्वाचनमा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले त्यसतर्फ सचेत भएर अगाडि बढ्नका लागि नेता तथा कार्यकर्तालाई उपसभापति गुरुङले निर्देशन दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा बहुमत दिलाउने गरी लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । टिकटका लागि राजधानी धाउने कार्य तत्काल बन्द गरेर मतदाताको मन जित्ने गरी गतिविधि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, प्रदेशसभा सदस्य ताहिर मियाँ, नवोदिता चौधरी, युवा नेता धिरज भट्टराईलगायत सहभागी थिए ।