
कोरोना भाइरसका कारण लकडाउनले काम गर्ने ठाउँमा थुनिएपछि पैदलै घर फर्किँदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरीका एक युवाको पुलबाट खसेर मृत्यु भएको छ।
धादिङ्गमा लकडाउन कडा पार्ने भन्दै पुलमा बार लगाएपछि चितवनबाट हिँडेर आफ्नै घर जान लागेका ३८ वर्षीय होमबहादुर रानाको लडेर मृत्यु भएको हो।
गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको सो पुलमा वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले तारबार गरेर हिँड्न नमिल्ने बनाएका थिए । मृतक मगर आफ्नो घरतर्फ जान लागेको बेला बार नाघ्न खोज्दा लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।
रानाले बुधबार राति आफू घर आइरहेको जानकारी परिवारलाई गराएका थिए। रानाले परिवारलाई आफूलाई लिन बुङ्कोटघाटसम्म आउन भनेपछि उनको परिवार बुधबार राति नै बुंकोटघाट पुलमा पुगेको थियो। बुधबार राती साढे ८ बजेसम्म सम्पर्कमा रहेका रानाको त्यसपछि फोन उठेको थिएन। चेकजाँच कडाइ गरिएकाले गोरखापटि नै बसेको हुनसक्ने आशंकामा पुलसम्म लिन गएका परिवारका सदस्य पनि घर फर्किएका थिए। बिहीबार विहान भने पुलमुनि मृत अवस्थामा रानाको शव फेला परेको थियो।

रोजगारीका लागि चितवनमा रहेका युवा बुधबार आफ्नो घर फर्कँदै थिए । परिवारसहित चितवनमा बस्दै आएका उनका परिवार लकडाउन अघिनै गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए । तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।
परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुनः खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो ।

मंगलबार ज्वालामुखीमा गरिएको र्यापिड टेष्टमा १ जनामा कोराना पोजेटिभ देखिएपछि गोरखापटिबाट आवतजावत प्रवेशमा कडाइ गर्दै पुलमा छेकबार लगाइएको थियो। बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना रहेको बुंकोटघाटस्थित बुढीगण्डकी नदीमाथिको पक्कि र झोलुङगे दुबै पुलबाट हुने आवतजावतमा कडाई गर्दै स्थानीयले छेकबार लगाएका थिए। छेकबार लगाउने काममा वडाध्यक्ष काप्रीको समेत सहभागी थियो ।
उनको मृत्युपछि रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ ।
रानाको शवलाइ पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ।