
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।
ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने पनि बताए ।
गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दावी गर्दै ओलीले अव घमण्ड गर्न नमिल्ने बताए ।
नेकपा एकीकृत समाजवादीका नेता समेत रहनु भएका मन्त्री आलेले ओलीमा महाभारतको दूर्योधनभन्दा पनि बढि घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए ।
उनले भने, ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अव आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन । तपाईहरु मूल्यांकन गर्नुहोस् । जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन ।’