
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताउनुभएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा आज आयोजित पार्टीका केन्द्रीय आयोगहरूको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताउनुभएको हो ।
पार्टीका नेता कार्यकर्ताहरूले सङ्गठनलाई व्यवस्थित नगर्दा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने संसद् विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद् विघटनको घटना संविधान विघटन र परिवर्तनकामी शक्तिमाथिको आक्रमण भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले आफूहरूले परिवर्तनको रक्षाका लागि अपिल गरेको बताउँदै संविधान, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरूलाई जोगाउन आफूहरूले जित्नैपर्ने बताउनुभयो ।
उहाँले अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै सबैलाई राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आयोगका सदस्यहरूलाई पार्टीका निर्वाचन केन्द्रित अस्थायी कमान्डमा कार्य विभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन समेत दिनुभयो ।
बैठकमा अनुशासन आयोगका कायम मुकायम सचिव अशोक रोकाया, लेखा परीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।