७ बैशाख २०८२, आईतवार

स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड बढीको सम्झौता

nepal army headquarter 1

नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड बढीको सम्झौता गरेको छ ।

सेनाले जि-टु-जी प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न लागेको हो। सोही सम्झौता अनुरूप चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने मंगलबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भिडिओ कन्फरेन्समार्फत् जानकारी दिए।

स्वास्थ्य सामग्री खरिदका लागि आइतबार सेनाले अन्तिम सम्झौता गरेको थियो।

सातदेखि दस दिनमा पहिलो चरणको सामग्री आइपुग्ने भन्दै पाण्डेले पहिलो चरणमा अति आवश्यकीय सामग्री आइपुग्ने बताए।

३ सय ४२ टन सामग्री ल्याउन एकैपटक सम्भव नहुने भएकाले पनि विभिन्न चरणमा ल्याइने उनको भनाइ छ।

चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याइनेछ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोड बढीको सम्झौता भएको छ ।

स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि विक्रीका लागि प्रस्ताव राखेको थियो ।

तर चीनबाट स्वास्थ्य सामाग्री र भारतबाट औषधि ल्याइने भएको छ । ओम सर्जिकलसँग १४ प्रकारका स्वास्थ्य सामग्रीका लागि १८ करोड ९५ लाख ६२ हजारको सम्झौता भएको छ।