
निर्वाचन आयोगले आगामी चैत २६ गतेदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
तीनै तहका सरकारले चुनावलाई प्रभावित पार्ने निर्णयहरू नगरुन् भनेर आयोगले चुनावको एक महिनाअघिनै आचासंहिता लागू गर्न लागेको हो ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार आचारसंहिता चैत मसान्त अघि नै लागू भइसक्ने छ । त्यसका लागि आयोगले विहीबार दलका प्रतिनिधिहरू तथा सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ ।
आयोगले आगामी विहिबार सर्वदलीय बैठक समेत आह्वान गरेको छ । उक्त बैठकमा आचारसंहिता लगाउनेबारे दलहरूको राय मागिने र बैठकको छलफलका आधारमा आचारसंहिता लागू हुने थपलियाले बताउनुभयो ।
सरकारले आचारसंहिता लागू हुनुअघि नै प्रहरी तथा कर्मचारीको सरुवा बढुवा तथा राजनीतिक नियुक्तिहरू टुंगो लगाउन खोजिरहेको छ । दलहरूबीच भागबण्डा नमिलेका कारण राजदूत भने नियुक्ति हुन सकेको छैन ।