७ बैशाख २०८२, आईतवार

ओलीले प्रचण्डलाई साक्षी राख्दै सांसदहरूसँग भने- मैले र प्रचण्डले बनाएको पार्टी हो, ढुक्क हुनुस् नेकपा फुट्दैन

Prachanda K P Oli 20180604 402 602

प्रधामन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी कुनै हालतमा नफुट्ने दावी गरेका छन्। ओलीले आफ्नो पार्टीका सांसदहरुलाई नेकपा कमजोर हुन्छ भन्ने नठान्न आग्रह गरेका छन् ।

बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् । सांसदहरूको भेलामा बोल्दै ओलीले पार्टी फुट्छ कि भन्ने हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे।

प्रधानमन्त्री ओलीले दुई दिनअघि सरकारले ल्याएको राजनीतक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि विभिन्न क्रिया प्रतिक्रिया आएको भन्दै अध्यादेश र सरकारका कामकारवाहीबाट नेकपा कमजोर हुने नभइ थप मजबुत बन्दै जाने बताएका हुन् ।

‘कसले भन्यो पार्टी फुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो? प्रचण्डजीले, पार्टी फुटाउने, मैले पार्टी फुटाउनेरु जसले त पार्टी बनायो उसैले पार्टी फोड्ने’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेकपा एक नेताले भने, ‘हामीले नबनाएको भए पार्टी बन्थ्यो? अरुले बनाएको भए बन्थ्यो? जसले बनायो उसैले पार्टी कसरी फोड्छ?’

संसारको कुनै पनि देशमा पार्टीको बहुमतले पार्टी फुटाउने व्यवस्था नभएको भन्दै प्रधानमन्त्री ओलीले संसदीय सर्वोच्चताका लागि अध्यादेश ल्याएको बताएका थिए।

‘राजनीतिक पार्टी विचारले एकताबद्ध हुन्छ । हाम्रो पार्टीमा विचार छ । पार्टीले अघि सारेको विचारलाई सबैले आत्मसात गर्ने कुरा हो । अहिले अध्यादेशका बारेमा धेरै कुरा बाहिर आएका छन् । कतिपयले अध्यादेशका कारण नेकपा कमजोर भयो सक्कियो समेत भनेको सुनेको छु । तर तपाईंहरु ढुक्क हुनुस् नेकपा कमजोर हुदैन, बरु बलियो बन्छ’, प्रधानमन्त्री ओेलीले सांसदहरुलाई आश्वसन दिँदै भनेका थिए ।

पार्टीमा समेत छलफल नै नगरी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संशोधन गर्दै खुकुलो पारेकोे थियो भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि संशोधन गरेको थियो ।

सरकारले यी दुई अध्यादेश ल्याएपछि नेकपाभित्रै यसको विरोध हुनुका साथै पार्टी फुट्ने हो कि भनेर आशंका समेत पैदा भएको थियो । तर सांसदहरुको छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेशकै कारण नेकपा नफुट्ने भन्दै सम्झाएका थिए ।

‘हामीले हाम्रो पार्टी बलियो बनाउने हो । अरुले पनि आआफ्नै पार्टी बनाउने हुन् । हामीले अर्काको पार्टी बनाउने होइन । त्यसैले तपाईंहरु आत्तिनु पर्दैन । नेकपा र सरकारले बाटो बिराएको छैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद लालबाबु पण्डितले रातोपाटीसँग भने, लोकतान्त्रिक अभ्यास अनुसार नै अध्यादेश ल्याएको हो । अब त्यो संसदमा जान्छ । छलफल हुन्छ । पारित हुने नहुने संसदले नै गर्छ । त्यसैले तपाईंहरु के के न भयो भनेर आत्तिनुपर्ने अवस्था छैन ।’

उक्त छलफलमा प्रदेश २ बाहेक सवै प्रदेशका सांसदहरु सहभागी बनेका थिए । तर अर्का अध्यक्ष प्रचण्डले भने नेकपाको स्थापना दिवसबारे शुभकामना मात्रै व्यक्त गरेका थिए ।

बाँकी अधिकांश समय ओलीले मात्रै अध्यादेश, सरकार र लकडाउनबारे सरकारका योजना सुनाएका थिए । छलफलमा समयअभाव र प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै सांसदहरुले दोहोरो प्रश्न नगरेको नेता पण्डितले जानकारी दिए ।

छलफलमा सुदूरपश्चिम प्रदेश, प्रदेश एक, वागमति प्रदेश,गण्डकी प्रदेश, कर्णाली र प्रदेश पाँचका सांसदहरु सहभागी थिए ।

छलफलमा सहभागी सांसद प्रेम आलेका अनुसार संसद नचलेको अवस्थामा अध्यादेश ल्याउन आवश्यक भएकाले ल्याइएको प्रधानमन्त्री ओलीले स्पस्ट पारेको बताए ।

‘संसद चल्ने अवस्था छैन । संवैधानिक आयोगहरु रिक्त बनाउने अवस्था पनि छैन । यस्तो बेलामा संविधान अनुसार नै अध्यादेश ल्याएको हो । यो नियमित र प्रक्रियागत काम नै हो, यसले पार्टी फुट्दैन,’ प्रधानमन्त्रीकोे भनाई उद्धृत गर्दै आलेले बताए ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा भागवण्डा खोजेर दुई तिहाइको सरकारलाई पेण्डुलम बनाउन खोजिएकाले अध्यादेश ल्याइएको समेत बताएका थिए।

‘बिपक्षी दलका नेताले भागबण्डा माग्ने काम गर्नुभयो। यति दिए आउँछु, उति दिए आउँछु मात्रै भन्नुभयो’ सांसद विजय शुब्बाले भने, ‘उहाँकै कारण ४ वटा जति बैठक त बस्न पनि सकेनन्। संवैधानिक रिक्ततालाई पूर्ति गर्न हामीले अध्यादेश ल्याएको हो।’

सुदुरपश्चिम प्रदेश, प्रदेश १ र बागमति प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुसँग बुधबार छलफल गरेका प्रधानमन्त्रीले बिहीबार अन्य प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए।