७ बैशाख २०८२, आईतवार

पूर्वस्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पुगे बालुवाटार: एकतिर फुट, अर्कोतिर एकता !

Surendra yadav

समाजवादी पार्टीका तर्फबाट राज्य पक्षले नै अपहरण गरेको आरोप लगाइएका पूर्व राज्यमन्त्री तथा सांसद डा सुरेन्द्रकुमार यादव केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन्।

समाजवादी पार्टी लगभग फुटको संघारमा पुगेको छ । यद्यपी गुटबाट बचाउने प्रयासमा नेताहरु लागिरहेकै छन् ।

मध्यरातमा राजधानीको एक स्थानमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकता भएको छ ।

यसैबीच जनकपुरबाट ‘अपहरण’ मा परेका दावी गरिएका समाजवादी पार्टीका नेता पूर्व राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनी पार्टी फुटाउने लाइनका हुन् ।

जनकपुरबाट साँझ ५ बजे यादवलाई गाडीमा हालेर नेकपा निकटका केही व्यक्तिहरु काठमाडौंतर्फ प्रस्थान गरेका थिए।

बर्दिबासबाट हिँडेका उनीहरु साढे १० बजे राति बालुवाटार पुगेका थिए। यस्तै समाजवादीका केही सांसद पनि बालुवाटारमा रहेको स्रोतको भनाइ छ । अहिले फुट पक्षधर एकठाउँमा र एकता पक्षधर अर्को ठाउँमा भएको बेला राजनीति रोचक देखिएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि कोरोनाको महामारीमा पनि यस्तो रोचक परिदृश्य देखिएको हो ।