७ बैशाख २०८२, आईतवार

भैंसेपाटीमा ओलीविरुद्ध अर्को मोर्चाबन्दी, अध्यादेश फिर्ता लिनुको विकल्प छैन

NCP Secretariat1

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।

सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा बिहीबार भएको छलफलमा नेताहरु उक्त निष्कर्षमा पुगेको उच्च स्रोतले जनाएको छ ।

छलफलमा सहभागी मध्येका एक नेताले छलफलमा जुटेको पुष्टि गर्दै भने, ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भयो । त्यसक्रममा अध्यक्ष प्रचण्डले आजै बिहान प्रधानमन्त्री केपी ओेलीसँग गरेको कुराकानीको ब्रिफिङ पनि गर्नुभयो ।’

ती नेताले थपे, ‘प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्नु भनेपनि कहिले गर्ने भन्ने अन्योल भयो । त्यसैले तत्काल फिर्ता गर्नुपर्छ भन्नेमा सवै नेताहरु एकमत हुनुभयो ।’ छलफलमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

महासचिव पौडेल भने अन्तिम समयमा पुगेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका महसचिव पौडेल अध्यादेशका सम्बन्धमा सन्तुष्ट थिएनन् । आजको छलफलमा महासचिव पौडेलले समेत सरकारको यही रवैया रहे लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्न पुग्ने भन्दै अध्यादेश फिर्ता लिनुको कुनै विकल्प नभएको बताएका थिए ।

बिहीबार बिहानै नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए ।

त्यसलगतै सरकारमा नरहेका सचिवालयका ६ नेताहरु भैँसेपाटीमा भेला भएका थिए । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक छलफल भएको थियो ।

‘यो अनौपचारिक समीक्षा मात्र थियो । तर, सबैको राय अध्यादेश फिर्ता लिनु नै सही हुन्छ भन्ने रह्यो,’ एक नेताले भनेका छन् ।

नेताहरुको छलफलमा अध्यादेश बाहेक पर्टीका विषयमा पनि छलफल भएको थियो । पार्टीका २० जना स्थायी समिति सदस्यहरुले बुधबार मात्रै अध्यादेशले पार्टीलाई बलियो नबनाउने भन्दै छलफलका लागि तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र पठाएका थिए ।

‘अध्यादेशबाहेक पार्टीका नेताहरुले बैठक बोलाउन माग गरेको विषयमा पनि छलफल हुने नै भयो । त्यस्तै सरकारका कामकारवाहीको मूल्यांकन र विश्लेषण गर्नुपर्ने आवश्यकता रहेकोमा नेताहरुको जोड रह्यो । सोही अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गर्नुपर्ने आवश्यकता देखियो,’ ती नेताले भने, ‘अव सरकारको मूल्यांकन पनि गर्नुपर्छ । विश्लेषण पनि गर्नुपर्छ । किनभने प्रश्न उठेपछि प्रष्ट पार्नु जरुरी छ ।’

सरकारले पछिल्लो पटक दुई अध्यादेश ल्याउदा पार्टीमा कुनै छलफल नर्गनुलाई नेताहरुले गम्भीर रुपमा लिएका छन् । ‘सरकारको काम गर्ने शैली ठीक भएन । राष्टिय महत्त्वका विषयमा निर्णय गर्दा समेत छलफल हुन छाड्यो । यसले समग्र पार्टीको पनि हित गर्दैन । मुलुकको पनि गर्दैन त्यसैले यसबारेमा गम्भीर छलफल गर्न जरुरी देखियो’, अर्का एक नेताले रातोपाटीसँग कुरा गर्दै भने, विषम परिस्थितिमा नेकपा एक ढिक्का हुनुका साथै अन्य पाटीको समेत साथ र सहयोग लिएर अघि बढ्नु राम्रो हुन्छ ।

नेताहरुकाअनुसार सरकारले अध्यादेश फिर्ता गरेपछि सचिवालय बैठक बोलाउन समेत प्रधानमन्त्री समेत रहेका ओलीलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।

यसअघि पनि भैंसेपार्टीमा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै सचिवालयका ५ नेताहरुको बैठक बसेको थियो । सो बैठकपछि नै ओली पार्टीमा एक्लिँदै गएका थिए ।

सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुनेगरी अध्यादेश ल्याएको थियो।

अध्यादेश फिर्ता गर्नका लागि नेकपाभित्र ठूलो दबाब परेको छ।