
प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ । दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र कमल थापाबीच तीन चरणमा भएको वार्तापछि तालमेल हुने पक्का भएको हो ।
तालमेलका लागि आवश्यक प्राविधिक कामको टुंगो गर्न दुई पार्टीले नेताहरुलाई जिम्मा पनि दिएका छन् । एमालेबाट ओलीका सल्लाहकारसमेत रहिसकेका झापाका नेता देवेन्द्र दाहाल र राप्रपा नेपालबाट महामन्त्री सुशील श्रेष्ठ तोकिएका छन् ।
राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठका अनुसार गठबन्धनको करिब सहमति जुटिसकेको छ । तालमेल गर्न सकिने स्थानीय तहबारे टुंगो गर्न दुई जनाको टोली बनेको छ ।
राप्रपाका अर्का महामन्त्री राजाराम बर्तौलाले पनि दुई दलबीच तालमेल करिब निश्चित भइसकेको बताएका छन् । महामन्त्री श्रेष्ठले एमाले नेता दाहालसँग आइतवार पनि संवाद हुने बताए ।
राप्रपा नेपालले आगामी २४ गतेसम्म आफूले उम्मेदवारी दिन सक्ने पालिकाको दाबी एमालेसमक्ष राख्ने तयारी भएको पनि श्रेष्ठको भनाई छ । श्रेष्ठले कांग्रेस, माओवादी र अन्य दलले जितेका स्थानीय तहमा दुई दलले समझदारी गरेर साझा उम्मेदवार उठाउने पनि बताएका छन् ।
नेकपा एमालेका नेता देवेन्द्र दाहालले पनि स्थानीय निर्वाचनमा तालमेलका लागि राप्रपाका दुवै समूहसँग वार्ता भइरहेको बताएका छन् ।
दाहालले राप्रपासँग भन्दा राप्रपा नेपालसँग सहमति जुट्न लागेको बताए । राप्रपासँग पनि चुनावी तालमेललाई लिएर संवाद चलिरहेको उनको भनाई छ ।