
युक्रेनको राजधानी किभदेखि उत्तरी भागमा रहेको बुचा सहरका मेयरले आइतबार रुसी फौजले कब्जा गरेका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेका लासहरू देखाएका छन् । त्यहाँ चेचेन लडाकुहरूले पनि नियन्त्रण कायम गरेका थिए ।
मेयर अनातोली फेदोरकले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका पत्रकारहरूलाई कपडाले हात बाँधिएको अवस्थामा दुईवटा लास देखाएका थिए ।
उनले रुसी फौजलाई सहयोग गर्न दक्षिणी रुसी क्षेत्र चेच्न्याबाट आएका लडाकुहरूले त्यहाँका वासिन्दामाथि अमानवीय व्यवहार गरेको पनि बताएका छन् । सेतो कपडाले हातहरू बाँधिएका एउटा लाुको मुखमा गोली हानिएको देखिन्छ ।
फेदोरुकले भनेका छन्, “जुनुसुकै युद्धमा सर्वसाधारणमाथि गरिने व्यवहारका समबन्धमा केही नियम हुन्छन् । रुसी फौजले जानीजानी सर्वसाधारणहरूको ज्यान लिइरहेको स्थिति प्रदर्शन गरेको छ । उनीहरूले व्यवहारिक रूपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुमति पाएर युक्रेनी जनतामाथि गोली हानिरहेका थिए ।”
तर रोयटर्सको पत्रकार टोलीले मेयरले लगाएका आरोपहरू तत्कालै पुष्टि गर्न सकेको छैन । मस्कोस्थित रुसी रक्षा मन्त्रालयले पनि बुचामा आइतबार भेटिएका सवहरूबारे सोधिएको प्रश्नको तत्काल जवाफ दिएको छैन ।
तर, क्रेमलिनले युक्रेनमा आफूबाट कुनै युद्ध अपराध नभएको बताउँदै आएको छ । यसले आफ्नो विशेष सैनिक अभियान युक्रेनी सशस्त्र फौजमाथि मात्र केन्द्रिथ रहेको बताउने गरेको छ । बुचा किभदेखि ३७ किलोमिटर उत्तर पश्चिममा रहेको छ ।