
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादवको अपहरण गरेको भन्ने आरोप गलत रहेको बताएका छन् ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई उनकै सहमतिमा जनकपुरबाट काठमाडौं ल्याइएको पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले बताएका छन् । यादवलाई अपहरण गरिएको भन्ने भनाइ सत्य नभएको खनालको प्रतिक्रिया छ ।
सांसद यादवले विहीबार होटलमा सबै सांसदसँग भेट हुने लागेको अवस्थामा मुड चेञ्ज गर्नू उनको गल्ती भएको खनालको भनाइ छ । खनालले बन्दाबन्दीमा अलपत्र परेकाहरुलाई सुरक्षित घर पुर्याउन बारे अध्ययन गर्न सुरुमा बनेपा बर्दिवास सडक पुगेको र त्यहीबाट डा. सुरेन्द्र यादवसँग कुराकानी भएको बताएका छन् ।
‘अस्ति हामी (खनाल, महेश बस्नेत र किसान श्रेष्ठ) भक्तपुरमा बसेका थियौं, डा. सुरेन्द्र यादव आउन खोजेको तर अझै डराइरहेको भन्ने कुरा बुझियो’, खनालले भने, ‘अनि, उहाँलाई परामर्शका लागि काठमाडौं नै आउनू भन्ने कुरा भयो ।’
यादवले नै सहमति जनाएपछि बुधबार ९ बजे उनको घरमा पुगेको पूर्वआईजीपी खनालले बताए ।उनले यादवले आफू पनि काठमाडौं आउने इच्छा ब्यक्त गरेपछि उनले लिएर आएको दाबी पनि गरेका छन् ।
‘घरमा पुगेपछि गफ भयो, खाजा खुवाए । खाना पनि खाएर जानू भने’, खनालले थपे, ‘बिहान ९ बजेतिर पुग्यौं । गफसफ भयो । खाजा खुवाए ’
त्यहीँबाट डा. यादवले विभिन्न व्यक्तिसँग परामर्श पनि लिएको खनालले बताए । ‘उहाँले जनकपुर गएर डा। सूर्य भन्नेसँग पनि भेट गर्नुभयो’, उनले भने, ‘त्यसपछि नै उहाँ आउन तयार हुनुभएको हो ।’
खनालले आफू विगतमा प्रहरी भए पनि अहिले सामान्य नागरिक भएको बताउँदै भने, ‘मैले हिँजो पुलिस भएर काम गरेँ । अहिले नागरिक भएर गरिरहेको छु । कुरा गर्नै नहुने, साथी भाइ नै नहुने भन्ने त होइन नि’
चर्चा गरिएजस्तो ‘अपहरण’ नभई आफ्नै ईच्छामा डा. यादव काठमाडौंसम्म आएको खनालले बताए । बुधवार राति पूर्वमन्त्री यादव, सांसद महेश बस्नेत र प्रदेश सासंद सहित तीनवटा गाडीमा काठमाडौं फर्किएको खनालले बताए।
‘सिन्धुलीमा खाजा खाइयो, काभ्रेमा खाना खाइयो । साँझ उहाँ होटलमा बस्नुभयो । भोलिपल्ट सबै सांसद त्यहीँ भेट हुने कुरा थियो’, पूर्वप्रहरी प्रमुख खनालले अगाडि भने, ‘बरु उहाँको पो दोष भयो, काठमाडौं आएर मुड चेञ्ज गर्नुभयो । नत्र, उहाँकै ईच्छाअनुरुप काठमाडौं आउनुभएको हो ।’
‘अपहरण कसरी भयो?,’ खनालले प्रश्न गरे।
उनीहरुसँगै सासंद कृष्णकुमार श्रेष्ठ पनि थिए। फर्किँदा तीनवटा गाडीमा सँगै आएको पूर्व महानिरीक्षक खनालले बताए।
‘उहाँसँग ७/८ वर्षअघि नै चिनजान भएको हो। उहाँले नै काठमाडौं आउने इच्छा देखाएपछि गएका हौं,’ खनालले भने, ‘तर राति पार्टीमा के के भयो। अहिले अपहरणको कुरा आइरहेको छ।’
बुधवार राति नै होटल मेरिएटमा ल्याएर छाडेको उनले बताए।
त्यही होटलबाट आज बिहान समाजवादी पार्टीका नेताहरुले डाक्टर यादवको उद्दार गरेको सार्वजनिक गरिसकेका छन्।
समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा परेको र प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइन यो सब भएको सामाजिक सञ्जालबाट खुलासा गरेका थिए।
खनालको नेतृत्वको समुहले यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएर होटलमा राखेको आरोप लागेको छ । स्वयं यादवले समेत आफु होटल नक्सालस्थित मरियट होटलबाट बिहान भागेर समाजवादी पार्टीका नेताको सम्पर्कमा आएको र त्यसपछि पार्टी कार्यालय पुगेको बताएका छन् ।
समाजवादी पार्टीले भने सरकारले पार्टी फुटाउन सरकारको निर्देशनमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवको अपहरण गरिएको आरोप लगाउँदै आएका थिए ।
पूर्व प्रहरी प्रमुख खनालले भने आफू सेवानिवृत्त भए पनि देश र जनताको सेवामा नागरिकको हैसियतले काम गरिरहेकाले उद्धार कार्यमा संलग्न हुनु स्वभाविक भएको बताएका छन् ।
खनालले आफ्नो फेसबूक पेजमा स्टेटसमार्फत बन्दाबन्दीमा सांसद यादव अलपत्र परेको खबर आएपछि उनको उद्धारमा आफु दुई संघीय सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठलाई सल्लाह दिन जनकपुरसम्म पुगेको दाबी गरेका छन् ।