
मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
नेकपाका शीर्ष नेताहरूले बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए । संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला अध्यादेश फिर्ता गर्न सक्नेछिन् ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको नेकपाभित्रै र बाहिर पनि विरोध भइरहेको छ ।
पार्टी फुटाउने उद्देश्यले ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब छ ।
भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधव कुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको अभिव्यक्ति दिएको नेताहरुले बताएका छन् ।