८ बैशाख २०८२, सोमबार

नारायणगढबाट बेपत्ता, बैँकमा पैसा निकाल्न गएका गैँडाकोटका युवा

Rajesh Adhikari

नारायणगढको एसबीआई बैँकको एटीएममा सोमबार साँझ पैसा निकाल्न गएका गैँडाकोट मिलनचोकका २३ वर्षीय राजेश अधिकारी बेपत्ता भएका छन् ।

बुबाको एटीएमबाट बैँकबाट ८० हजार रुपैयाँ निकालेपछि अधिकारी नारायणगढ बजारबाट बेपत्ता भएका हुन् । राजेशका बुबा कृष्णप्रसाद अधिकारी भारतीय सेनामा कार्यरत रहेका छन् ।

सधै प्राय उनी नै बैँकमा पैसा झिक्न जाने गर्दथे तर सोमबार साँझ भने घर फर्किएनन् । राजेशकी आमा हरिमाया अधिकारीले गैँडाकोट प्रहरीमा छोरा खोजिदिन उजुरी दिएकी छन् तर प्रहरीले यो समाचार तयार पार्दासम्म भेट्न सकेको छैन ।

सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत राजेश सोमबार साँझ पाँच बजेर ३० मिनेट जाँदा घरबाट पैसा निकाल्न नारायणगढ बजार हिडेका थिए ।

सधै झै उनले जिम जाँदा बोक्ने सानो ब्याक, घरमा लगाइरहने ट्रयाकसुट र सर्ट लगाएर गएको उनकी बहिनी अस्मिता अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिइन् ।

साँझ ६ बजेर १४ मिनेट जाँदा एसबीआई बैँकको एटीएमबाट ८० हजार रुपैयाँ झिकेको उनको भारतमा रहेका बुबालाई म्यासेज गयो तर पैसा झिकेपछि राजेश घर फर्किएनन् । रातिसम्म बहिनी अस्मिता र आमा हरिमाया उनको प्रतिक्षामा बसिरहे छोरा नफर्किएपछि आफन्तहरुलाई फोन गरे तर पत्ता लाग्न सकेन ।

आफन्तहरु सबै मिलेर नारायणगढ बजारतिर खोज्न पनि गए एसबीआई बैँकसँगैको होटलमा एउटा कोक खाएर जिम हल जान्छु भनेर हिडेको भन्ने त थाहा भयो तर उनी आएनन् । बहिनी अस्मिता अधिकारीले भनिन्, ‘दाई त्यसरी हिडेको अहिलेसम्म थाहा थिएन । सधै घरको काम गरेर बस्नुहुन्थ्यो । कुनै नशालु पदार्थ सेवन गरेर घरबाट जथाभावी हिडेको पनि थाहा थिएन ।

पहिले जस्तै नै घरको सबै काम सकेर बजार जानु भएको हो ।’ उनले अन्य दिन सधै स्कुटरमा हिड्ने मानिस त्यो दिन भने स्कुटर घरमा नै राखेर हिड्दै गएको जानकारी दिइन् । उनले भनिन्, ‘दाईको फोन अफ भएपछि भने सम्पर्क हुन सकेन । पावर हाउसको जिमहलमा बुझ्दा त्यो दिन जिम हल ७ बजेर ४५ मिनेट जाँदा बन्द भएको रहेछ । त्यसपछि कुनै सम्पर्क हुन सकेन । ’

के हुँदैछ प्रहरीको अनुसन्धान ?

गैँडाकोट प्रहरीमा उजुरी परेपछि प्रहरीले पनि प्ररम्भिक अनुसन्धान सुरु गरेको छ । सडक किनारमा राखिएको सीसीक्यामराको फुटेज हेर्दा गैँडाकोटको मिलन चोक र शिलान्यास चोकको सीसी क्यामरामा साँझ राजेश देखिएको प्रहरीका सहायक निरीक्षक सुजन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘हामीले खोजतलास गरिरहेका छौं । सडक छेउ र नदी किनारका अन्य सीसी क्यामराहरुको फुटेजहरुको अध्ययन गर्दै छौं । ’ अहिले उनको फोटो राखेर आफन्त र साथीहरुले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना शेयर गरिराखेका छन् ।