
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले अबको गन्तव्य राष्ट्रिय र सामाजिक एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्नु रहेकाले त्यसमा सबैको साथ र समर्थन आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सञ्चारकर्मीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री कार्कीले त्यसका लागि सरकार सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
उहाँले अबको १० वर्षभित्रमा समृद्ध नेपाल र धनी नेपाली बनाउने आकाङ्क्षाका साथ सरकार अघि बढेको उल्लेख गर्दै यस अभियानमा सबै क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याउनुभयो ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले यसअघिको सरकारले प्रेस स्वतन्त्रता सङ्कुचन हुने गरी अघि बढाएका विधेयकहरू फिर्ता लिन आग्रह गर्नुभयो ।
नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सरकार र मिडियाकर्मीको संयुक्त सहकार्य र योगदान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, प्रेस युनियनका कावा महासचिव भीष्मराज ओझा, युनियनका कोषाध्यक्ष सरोज अधिकारी लगायतले सञ्चार क्षेत्रका चुनौतीबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।