
जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो ।
प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।
उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताउनुभयो । “अनुसन्धानबाट बिहानै हत्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई हत्या गरेको खुलेको छ ।” एसपी बोहोराले भन्नुभयो “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” हत्याको मुख्य योजनाकार नाबालिक छिन् ।
एसपी बोहोराका अनुसार हत्या गर्नुको कारण साथीसाथीबीच प्रतिशोध रहेको बुझिएको छ । मृतक कविता र हत्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् । साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मनमुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।
सो योजनामा विनोदको मद्दत लिएर हत्या गरेको पाइएको एसपी बोहोराले बताउनुभयो । सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्रहार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरुले दिएका छन् । उनीहरुले हत्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए ।
सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेको थियो । हत्यापछि घरै बसेका उनीहरुलाई प्रहरीले आशंका गरी घरबाटै पक्राउ गरेको थियो ।
घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुईजनालाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । उनीहरु उपर कर्तब्य ज्यान मुद्दा परेको छ । मृतकको बुवा कृष्ण सुनुवारले हिजै उनीहरुको नामसहित किटानी जाहेरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय रामपुरमा दर्ता जाहेरी उपर कानुनी कारवाही अगाडि बढाउने क्रममा आज दुबैजनाको जिल्ला अदालत उदयपुरमा म्याद थप भएको प्रहरीले जनाएको छ । दोषी नाबालिकलाई पाँच दिन र विनोदलाई सात दिनको म्यान थप भई थप अनुसन्धान अगाडि बढेको जनाइएको छ ।
मृतक किशोरीको शब पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनाको २४ घण्टासम्म पनि अपराधी पत्ता नलागेको भन्दै स्थानीय र मृतक परिवारले किशोरीको शब जिम्मा लिन मानेको थिएन । सडकजाम तथा बजारमा प्रशासन विरुद्ध प्रदर्शन गरेको स्थानीयले छिटो हत्यारा पत्ता लगाई सार्बजनिक गर्न माग गर्दै आएको थियो । आन्दोलन भड्काव किसिमको हुने स्थिति भएपछि आजै सर्बपक्षीय छलफल भएको थियो ।
छलफलले पीडितलाई उचित न्याय र क्षतिपूर्ति दिलाउन सबै लागि पर्ने र अपराधी पत्ता लगाई कारवाही गर्न प्रहरीलाई सहयोग गर्ने सहमति बनेको थियो । यता सहमति संगै प्रहरीले हत्यामा संलग्न दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
किशोरीको हत्यापछि हिजैदेखि शोकमा डुबेको बेलका नगरपालिका क्षेत्रमा आज सबै विद्यालयमा शोक विदा भयो । मृतक किशोरी विद्यालयमा अनुशासित र पढाईमा मिहिनेती र जेहेन्दार रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले बताउनुभयो ।
विद्यालयको एउटा राम्रो विद्यार्थी गुमाउनु परेको र परिवारको एक असल छोरी गुमाउनु परेको भन्दै स्थानीयले मृतक किशोरीको नाम अमरत्व हुने किसिमको केही काम गर्न नगरपालिका र विद्यालय प्रशासनसंग माग राखेको छ । साथै हत्यारालाई हदैसम्मको सजायको माग गरेको छ ।
हत्यारामध्ये एकजना नावालिका रहेकोले सोही कानुन बमोजिम कारवाही हुने र विनोदलाई भने पूरा कानुन लाग्ने प्रहरी प्रमुख एसपी बोहोराले बताउनुभयो ।
उनकै किशोरी साथी र साथीको दाइको संग्लनता
‘कोचिङ’ कक्षाका लागि मंगलबार बिहान घरबाट हिँडेकी उदयपुरको कोसी जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा उनकै किशोरी साथी र साथीको दाइको संग्लनता देखिएको छ ।
प्रहरीले हत्या आरोपमा कवितासँगै पढ्दै आएकी ढकाल थरकी १५ वर्षीया छात्रा र उनका दाइ नाता पर्ने १९ वर्षीय विनोद ढकाललाई पक्राउ गरेको छ । कविताको मोबाइल पनि उनकै साथीको घरमा भेटिएको छ ।
मंगलबार बिहान करिब साढे ६ बजेको समयमा कविता यशोदा खोलामा मृत भेटिएकी थिइन् । बिहान साढे ६ बजेको आसपासमा उनलाई भैँसी चराउन जानेहरूले देखेका थिए ।
मंगलबार कविता आफ्नै साथीको योजनामा मारिइन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “कवितलाई उनकी साथीले बिहान साढे ४ बजेतिर आज कोचिङ जानुपर्छ भनेर फेसबुकमा म्यासेज गरेकी रहिछिन् । उनले हुन्छ भनेपछि साथीसँगै हिँडेर स्कुलतर्फ अगाडि बढिन् । साथीसँग उनको दाइ पनि रहेछन् । उनका दाइले बियरको बोतल लुकाएर लगेका रहेछन् । केही पर पुगेपछि कविताको टाउकोमा बियरको बोतलले हिर्काएका रहेछन् ।”
कवितालाई लिन उनकी साथी घरनजिकै आएकी थिइन् । बियरको बोतलले हिर्काएपछि कविता जमिनमा लडेको र सो अवस्थामा उनीहरूले टाउकोमा ढुंगा प्रहार गरेको देखिएको छ ।
कवितामाथि आक्रमण गरिसकेपछि उनीहरूले घिसारेर खोलासम्म लगेको र फेरि टाउकोमा ढुंगा बजारेको उनीहरूले बताएको अनुसन्धानमा संलग्न एक अधिकारीको भनाइ छ ।
उनका अनुसार पक्राउ परेका दुवैजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार समेत गरिसकेका छन् । कविताको मोबाइल साथीको घरबाट बरामद हुनुले घटना पुष्टि भएको प्रहरी भनाइ छ । यसबाहेक प्रहरीले बियरको बोतलका टुक्रा समेत बरामद गरेको छ ।
कवितामाथि आक्रमण गर्दा विनोदको शरीरमा समेत चोट लागेको प्रहरीले जनाएको छ । आफूलाई हेप्ने गरेका कारण कवितामाथि आक्रमणको योजना बनाएको उनकी साथीले बताएकी छन् ।
अनुसन्धानका क्रममा केही समयअघि मनमुटाव भएर कविता र उनकी साथीबीच बोलचाल पनि बन्द भएको थियो । त्यसपछि कविताकी साथी फेरि बोल्न सुरु गरेकी थिइन् । निम्नवर्गीय परिवारकी कविताका बुवा सामान्य मजदुरीको काम गर्दै आएका छन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले आज म्याद थपको तयारी गरेको छ । प्रहरीले घटनाबारे प्राविधिक पाटोको समेत अनुसन्धान भइरहेको जनाएको छ ।