
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मेलम्ची बाढीले पुर्याएको क्षतिको अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले अवलोकन पश्चात् बाढी पीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत ४ करोड बजेट निकासा भएको जानकारी दिनुभयो । उहाँले द्रुत गतिमा काम गर्न निर्देशन दिनुहुँदै १० करोड रकम थप गर्ने योजना रहेको समेत उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति पुर्याएको भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम थाल्न निर्देशन दिनुभयो । उहाँले बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, पशुपन्छी राज्य मन्त्री इन्द्रमाया गुरुङ, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल लगायतलाई सहजीकरण गर्न आग्रह समेत गर्नुभयो ।

उहाँले ५० लाखभन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान रहेकाले हेलम्बु , मेलम्ची र पाँचपोखरीमा ५० र ५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत तत्काल कार्य गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा मेलम्ची नगर प्रमुख डम्बर अर्यालले विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउनुभयो ।
बाढी पीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङले मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।

त्यस्तै उहाँ आजै हेलम्बु क्षेत्रमा पनि पुगी त्यहाँका स्थानीयका गुनासो सुन्नुभयो ।
असार १ र त्यस पछिल्ला बाढीले मेलम्ची , हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो ।