
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ल्याप्रोस्कोपी प्रविधिमार्फत सर्जरी गरि एक महिलाको पाठेघरमा पलाएको झन्डै दुई किलोग्रामको ट्युमर निकालिएको छ ।
पाठेघरमा ट्युमर पलाएर समस्या भोगिरहेकी पोखराकी ४५ बर्षिया इन्दिरा पौडेलको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात तीन दिनमा डिस्चार्ज भएर घर फर्किसकेकी छन् । अस्पतालका गाइनोकोलोजिस्ट डा. राजन शाहको टीमले करिब घन्टामा नै पेटमा आधा सेन्टिमिटरको सानो प्वाल पारी उक्त शल्यक्रिया गरेका हुन् ।
संसारभर प्रचलित हुँदै गएको यो प्रविधिमार्फत छोटो समयमा नै ओपन सर्जरी नगरि पेटभित्रको जुनसुकै शल्यक्रिया गर्न सकिन्छ । नेपालका अस्पतालमा कम प्रयोग भईरहेको कारण ल्याप्रोस्कोपी सर्जरीको बारेमा धेरैलाई जानकारी नभएको तर एभरेष्ट अस्पतालमा भने यसको प्रयोग भईरहेको डा. शाहले बताए ।
डा. शाहका अनुसार बिरामीको शरिरमा धेरै घाउ नबनाई गर्न सकिने यो प्रविधि दुरविनमा आधारित हो । क्यामेराको माध्यमबाट ट्युमरको अवस्था पत्ता लगाई पेटमा सानो प्वाल पारेर जस्तोसुकै शल्यक्रिया पनि गर्न सकिने र बिरामीले लामो समय अस्पताल बस्नुपर्ने बाध्यता नहुने डा. शाहले बताए ।