
काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको सडकले काठमाडौँको रुप बदल्न थोरबहुत सहयोग गरेकै देखिन्छ । तर त्यही सडकखण्डको कलंकीदेखि चाबहिलसम्मको सडक चाहीँ राणाकालिन स्थितिमै घिसिटिपी चलिरहेको छ ।
यहाँका जनताको दुखको पीडा, काठमाडौँबासीले खेपेको साँघुरो सडकको कष्ट भनि साध्य छैन । काठमाडौँमा मानिसको चाप बढेसंगै कलंकी–कोटेश्वर सडक विस्तारको डिपिआर बिक्रम सम्बत २०६४ सालमै तयार भएको थियो ।
तर १५ वर्ष वितिसक्दा पनि यो क्षेत्रको सडक जस्ताको त्यस्तै छ । डीपीआर बनाउँदा भर्खर जन्मेको बच्चा १५ वर्ष उमेर पुगेर सवारी साधन चलाउन लाइसेन्स सहित सवारी साधन चलाउन एक वर्ष मात्रै बाँकी छ तर सडक बन्न सकेन ।
डेढ दशक समय भनेको विकास र परिवर्तनका लागि विशाल समय हो तर १५ वर्षमा १५ दिनको काम पनि भएको छैन । डीपीआरको त परकै कुरा भो चक्रपथ निर्माणका लागि नेपाल र चीन सरकार बीच सडक स्तरोन्नतीका लागि सम्झौता भएको मिति हिसाव गर्दा पनि नौ वर्ष बितिसक्यो ।
२०६९ पुषमा सम्झौता भएको यो योजनाको फाइल कागजको आयु सकेर फुगं उडिसक्यो होला, कागजपत्रका फाइलहरु खातका खात लागेर सम्हाल्नु गाह्रो परिसक्यो होला तर नांगो आँखाले हेर्दा कार्यस्थलमा उही ५० वर्ष पहिलेको सडकको अवस्था छ ।
२०६९ साल देखि सुरु भएकोे कलंकी, बल्खु हुदै देखि कोटेश्वरसम्मको सडक—खण्ड २०७२ सम्ममा सम्पन्न गर्नुपर्ने थियो । तर २०७५ सालमा बल्ल बल्ल सम्पन्न भयो । पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड अन्तर्गत १० दशमलव ८ किलोमिटर सडक यसअघि नै आठ लेनको बनिसकेको छ ।
दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोेजना अन्तगर्त कलंकी, बालाजु, नयाँ बसपाक, महाराजगञ्ज हुँदै चाबहिल गोपीकृष्ण हल अगाडी धोवीखोला सम्मको ८ लेनको ६२ मिटर फराकिलो पार्ने भनिएको थियो ।
यो सडक पनि सन् २०७६ साल भित्र सक्ने लक्ष्य थियो । तर त्यो लक्ष्य वास्तविकतामा देखिएको छैन । एकातिर कामचोर नेपाली पक्ष, अर्कातिर निर्माण ठेक्का लिएको चिनियाँ पक्षको मनमौजीले जनताले हैरानी पाइरहेका छन् ।
तत्कालै सडक बन्ने भो शैलीबाट हतार हतारमा सडक छेउछाउमा भएका बढेमानका रुखहरु काटिए, उजाड बनाइयो । जनताले पनि अब त छिट्टै सडक विस्तार हुने भो भनेर खुसी मनाए । त्यसपछि अहिलेसम्म वरको सिन्का पर सारिएको छैन । कोटेश्वर– कलंकी– महाराजगञ्ज – चाबहिल हुँदै कोटेश्वर जोड्ने सडक काठमाडौँ परिक्रमा गर्ने सडकमार्ग हो ।
करिव २७ किलोमिटरको यो सडकको गोलाईलाई चक्रपथको नामले चिनिन्छ । यहाँ मानिसको चाप यति धेरै बढिसक्यो की अब त काठमाडौँ चक्रपथ भन्न पनि लाज लाग्ने स्थिति पैदा भइसकेको छ । किनकी मानव बस्तीले काठमाडौँका डाँडाहरु भरिन थालिसके । सरकारकाले बाहिरी चक्रपथ बनाउने अवधारण पनि ल्याएको छ ।
भएको चक्रपथ सुधार त कहिले हो कहिले भएका बेला बाहिरी चक्रपथ यो पुस्ताले देख्न पाउलान् त ? विस्तार नुहँदा यो सडक भएर यात्रा गर्ने मानिसहरु धुलो धुवाँको त परको कुरा सवारी जामका कारण कहिल्यै भनेको समयमा ठाउँमा पुग्न पाएका छैनन् ।