
आज पहिलो दिन नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी लगायत मुख्य दलहरुले अधिकांश पालिकामा उम्मेद्वारी दिएनन् । आआफ्ना उम्मेद्वार टुंगो लगाउन अहिले पनि रस्साकस्सी चलिरहेकोले दलहरुले भोलि मात्रै दर्ता गर्ने छन् । केही साना दल र स्वतन्त्र उम्मेद्वारले भने दर्ता गरेका छन् ।
वागमती प्रदेशमा काठमाडौं महानगरमा प्रमुख पदमा १६ र उपप्रमुखमा ११ जनाको उम्मेद्वारी परेको छ । ललितपुर महानगरपालिमा प्रमुखमा ८ जना र उपप्रमुखमा ३ जनाले दर्ता गरेका छन् । ललितपुरमा गठबन्धन भत्केको छ । चितवनको भरतपुर महानगर प्रमुखमा ११ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । हेटौडामा ७ जनाले प्रमुखमा मनोनयन गरे । अरु पालिकामा दर्ता थोरै मात्रै भयो ।
प्रदेश एकमा मुख्य दलले मनोनयन दिएनन् । नेकपा एमालेले भने मोरङका केही पालिकामा दर्ता गरेको छ । विराटनगर महानगरको प्रमुख, उपप्रमुख र केही वडाध्यक्ष गरी ३६ जनाको उम्मेद्वारी परेको छ । प्रदेशका अरु जिल्लामा पनि फाट्टफुट्ट स्वतन्त्र र साना दलले उम्मेद्वारी दिएका छन् । त्यस्तै मधेश प्रदेशको वीरगन्ज महानगर प्रमुखका लागि ११ जना उम्मेद्वारले उम्मेद्वारी दर्ता गराउँदा मुख्य दलका कोही छैनन् । नेमकिपा र नेपाल सद्भावना पार्टीका एक एक जना र बाँकी ९ जना स्वतन्त्र हुन् ।
धनुषाको १८ वटा पालिका मध्ये ११ वटामा २२ जनाको प्रमुख पदमा र उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वार चयनमा सकस र आन्तरिक विवाद समाधान हुन नसक्दा मुख्य दलबाट उम्मेद्वारी परेन् । लुम्विनी प्रदेशका केही पालिकामा कतिपय साना दल र स्वतन्त्रले मात्रै दर्ता गरे । बुटवल, नेपालगंज, तुल्सिपुर, घोराही लगायतका उपमहानगर र अरु नगर तथा गाउापालिकामा छिटफुट मात्रै उम्मेद्वारी परेको छ । गण्डकी प्रदेशको अवस्था पनि उस्तै रह्यो । मुलुककै ठूलो महानगर पोखराको प्रमुख पदका लागि आज ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ति मध्ये अधिकांश स्वतन्त्र र साना दलका हुन् ।
कर्णाली प्रदेशका केही पालिकामा साना र स्वतन्त्र उम्मेद्वारले मनोनयन गरे पनि मुख्य दलले गरेनन् । अधिकांश पालिकामा गठबन्धन दलहरुवीच तालमेलमै सहमति भएको छैन भने एमालेमा पनि गुटगत समस्या छ । सुर्खेतका ९ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्रबाट एक जनाको मनोनयन परेको छ । सल्यान, हुम्ला, डोल्पा लगायतका जिल्लामा पनि आज न्यून उम्मेद्वारी पर्यो । आजको मनोनयन सबै तहमा शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।